नेपालमा जुनसुकैबेला पनि महामारी फैलन सक्ने चेतावनी

पछिल्ला वर्षहरूमा विश्व समुदायमाझ नयाँ रोगले महामारीको रूप लिइरहेको छ । लाखौँ मानिसको मृत्यु भइरहेको छ । नयाँ रोगले महामारीको रूप किन लिइरहेको छ ? यो प्रश्नको खोजीमा सक्रिय छिन्, प्रा.डा. क्रिस्टिन क्रिउडेर जोनसन । युनिभर्सिटी अफ क्यालिफोर्नियाकी प्राध्यापकसमेत रहेकी जोनसन नयाँ रोगबारे अनुसन्धानमा जुटेकी छिन् । जैविक तथा पारिस्थितिक निगरानी संयोजक रहेर उनी एसिया र अफ्रिकाका देशहरूको महामारी नियन्त्रणमा जुटेकी छिन् । ‘वान हेल्थ’ नीतिलाई विश्वभर अवलम्बन गर्ने उद्देश्यले एसिया र अफ्रिकाका ३० देशमा अध्ययन सुरु भएको छ । जनावर, मानिस र वातावरणको अध्ययन गरी कस्ता खालका नयाँ रोगहरूले महामारीको जोखिम ल्याउँछन् भन्नेमा अनुसन्धान भइरहेको छ । पाँच वर्षदेखि जोनसन नेपालमै बसेर अध्ययन अनुसन्धानमा सक्रिय छिन् । नेपालमा रोगको अवस्था, सम्भावना र चुनौतीबारे नयाँ पत्रिकाका अर्जुन अधिकारीले उनीसँग कुरा गरेका छन् :

जनावरबाट मानिसमा सर्छ रोग
महामारी रोग अनुसन्धानका क्षेत्रमा मैले २० वर्षको अनुभव बटुलिसकेकी छु । सरुवा रोगबारे अध्ययन तथा अनुगमन जारी छ । मुख्यतः जनावरबाट कस्ता–कस्ता रोग मानिसमा लाग्छन्, जोखिम के हो र नियन्त्रण कसरी गर्ने भन्ने नै मेरो पहिलो उद्देश्य छ । विगत पाँच वर्षदेखि नेपालमा महामारी रोगसम्बन्धी अध्ययन सुरु गरेकी हुँ ।

यहाँ जनावर र मानिसबीच निकै नजिकको सम्बन्ध छ । नेपालमा आएर अनुसन्धान गर्नुअघि मैले समुद्रमा पाइने विभिन्न जनावरका बारेमा अध्ययन गरेकी थिएँ । यस्ता रोग मानिसमा कति सर्न सक्छन् भनेर समुद्रका जनावरमा अनुसन्धान गरेँ । गिद्ध, माउन्टेन लायन, स्तनधारी जनावर, मृगहरूमा अनुसन्धान गरिएको थियो । त्यो अनुसन्धानले मानिसमा लाग्ने ७० प्रतिशत रोग जनावरबाट आएको देखाएको छ । समुद्री क्षेत्रमा गरेको अध्ययन अनुसन्धानमा ७५ प्रतिशत नौला प्रकारका रोग पनि देखाएका छन्, जुन मानिसमा पनि मिल्न सक्छ ।

युनिभर्सिटी अफ क्यालिफोर्नियाले ‘क्रिडिट’ नामको कार्यक्रम नेपालसहित ३० देशमा सञ्चालन गरेको छ । जनावर र मानिसबीचमा कस्ता रोग छन् भन्ने पत्ता लगाउन अध्ययन तर्न थालिएको आठ वर्ष भएको छ । छोटो अवधिमै एक हजारभन्दा बढी नयाँ प्रकारका रोग पत्ता लागिसकेका छन् । जुन आज अफ्रिकी मुलुकमा महामारीको रूपमा देखा परिरहेका छन् । इबोला, सार्ज, एचआइभीलगायतका नौला प्रकारका भाइरस पत्ता लागेको धेरै वर्ष भएको छैन । पत्ता लागेका सात सय नयाँ भाइरसहरू मानिसमा सर्न सक्ने रोगअन्तर्गत पर्छन् ।

मुसाको अध्ययनबाट रोग पत्ता लाग्यो
अहिले हामीले नेपालको एक उच्चस्तरीय कम्पनी सिएमडिएनसँग मिलेर अध्ययन, अनुसन्धानको काम गरिरहेका छौँ । यस क्रममा हामीले नेपालमा पाँच किसिमका जनावरमा अध्ययन गरिरहेका छौँ । यो बीचमा मुसा र छुचुन्द्रोमा नौलो प्रकारका भाइरस पत्ता लगाइसकेका छौँ । यसले के समस्या गराउन सक्छ भनेर थप नयाँ जोखिमको न्यूनीकरण गर्न अध्ययन गरिरहेका छौँ । बस्तीमै गएर मुसामाथि अध्ययन गरेका हौँ । रोग लाग्नुभन्दा अगावै पत्ता लगाउन सके अनुसन्धान उपलब्धिमूलक हुन्छ भनेर बस्तीनजिकै गएर अनुसन्धान गरिएको हो । स्क्रबटाइफस पनि मुसामा भएको किर्नाका कारणले लाग्ने गर्छ ।

अहिलेसम्म अध्ययन गरिएकामध्ये चमेरोका बारेमा संसारभर नै कम अध्ययन हुने गरेको छ । नेपालमा त यसको कुनै अध्ययन भएकै पाइँदैन । कोरोना, सार्स, इबोलाजस्ता रोग चमेराको कारणले आएको पाएपछि हामीले नेपालमा पनि यसलाई विशेष महत्वका साथ अध्ययन गरेका हौँ । चमेरोबाट महामारीजन्य रोग लाग्छ भन्ने विषयमा हामी जानकार हुँदाहुँदै पनि मानिसहरू नजिकै बस्ने गरेको पाइएको छ । हामीले अध्ययन अनुसन्धान गरेको पनि मानिससँगै बस्ने जनावर भएको ठाउँको हो । मुसा, चमेराले फलफूल खाएर जमिनमा झारेपछि वस्तुले खाने र त्यसबाट मानिसमा रोग सर्ने गरेको विश्वमा भएका अनुसन्धानले प्रस्ट्याएका छन् । कतिपय स्थानमा चराहरूले मानिसको खानेकुरामा झारिदिएका हुन्छन् ।

नेपालमा चमेरो खाने मानिस भेट्यौँ
हामीले अनुसन्धान गर्दा चमेरो खाने मानिस पनि नेपालमा रहेको पाएका छौँ । मुख्यगरी मकवानपुरमा चेपाङ बस्तीमा चमेरो खाने गरेको पाइएको छ । चमेरो खाँदा मानिसमा कुन रोग लाग्न सक्छ ? कस्ता–कस्ता रोगको स्रोत चमेरो हो ? यसको माध्यमबाट मानिसमा सरे-नसरेको बारे अनुसन्धान गरिरहेका छौँ । अहिले हामीले गरेको अध्ययन अनुसन्धान भनेको बाँदर, मुसा, चमेरो र मानिसको हो । पशुपति, थापाथली र स्वयम्भूका बाँदरमा हामीले अनुसन्धान गरिसकेका छौँ । तिनीहरूमा मानिसमा लाग्न सक्ने रोगको भाइरस व्यापक मात्रामा देखिएको छ, तर मानिसमा सरिसकेको वा नसरेको बारेमा अझै अध्ययन जारी छ । मानिसको अध्ययन अनुसन्धान भने सुकुम्बासी बस्ती र अस्पातलमा गरिरहेका छौँ ।

हाम्रो मुख्य उद्देश्य जनावरमा भएको रोग पत्ता लगाउने मात्रै होइन, पत्ता लगाइसकेपछि त्यो रोग मानिसमा सर्न नदिन कस्तो उपाय अपनाउने भन्ने हो । रोग लाग्नुअगावै रोगको सही पहिचान गरेर रोकथाम गर्नु हाम्रो मुख्य काम हो । समुदायसँग गरिएको अनुसन्धानले धेरैलाई प्रश्न गर्न सक्छ । यो अनुसन्धान मानिसहरूको सम्बन्ध जनावरसँग कस्तो रहेको छ भनेर गरिएको हो । जुन अध्ययनलाई विश्वका ३० देशरुमा सञ्चालन गरिरहेका छौँ । मानिसहरूको मात्रै संरक्षण गर्ने होइन, जनावरको पनि संरक्षण गर्नुपर्छ भनेरै हामीले दुवैको अनुसन्धान गरेका हौँ । रोगी जनावर सबै मारेर रोग ठीक हुन्छ भन्ने पक्षमा हामी छैनौँ । मानिस पनि मर्नुभएन, जनावर पनि मार्नुहुँदैन भन्ने पक्षमा हामी लागेको छौँ ।

बाँदरबाट मानिसमा रोग सर्न सक्छ
नेपालका सहरी क्षेत्रमा हेर्ने हो भने बाँदर र मानिससँगै भएको जस्तो देखिन्छ । बाँदरमा रोगहरू हुन्छन् । रोगी बाँदरले टोके वा त्यसको र्‍याल परे मानिसमा रोग सर्न सक्ने सम्भावना धेरै हुन्छ । यो विषयमा नेपालीहरू पूरै जानकार भएका छैनन् । हामीले थप स्पष्ट पार्न बाँदरमा केके रोग छ भनेर पत्ता लगाउँदै छौँ । केही भाइरसहरू भने पत्ता लगाइसकेका छौँ । बाँदरको खास जनसंख्या कति हो भन्ने हामीलाई यकिन छैन । पशुपति, स्वयम्भू, थापाथलीमा भएका बाँदरको आधिकारिक तथ्यांक लिइएको छैन । हाम्रो अनुमानमा यी क्षेत्रमा एक हजारको संख्यामा बाँदर हुन सक्छन् । केही समयअघि नयाँ पत्रिकाबाट नै पशुपति र स्वयम्भूका बाँदरमा ९७ प्रतिशत एचआइभी र क्यान्सर गराउने भाइरस देखिएको विषयमा समाचार आइसकेको छ । यो सत्य हो र हाम्रो अनुसन्धानले पनि देखाइसकेको छ । यहाँका बाँदरले पेटभरि खान नपाउँदा मानिसलाई टोक्ने र मानिसले बोकेको खानेकुरा खोसेर खाने गरेको पाइयो । जसरी मानिस र बाँदरबीच सम्बन्ध नजिक छ, त्यस्तो अवस्थामा जोखिम बढेको पाइन्छ । यसरी बाँदरले मानिसलाई टोकेको, खाना खोसेर खाएको विषयमा गहन रूपमा अनुसन्धान गरिरहेका छौँ । यो अनुसन्धान सकिएपछि बाँदरमा कस्ताकस्ता भाइरस छन्, बाँदर र मान्छेमा आउने रोग र सर्ने सम्भावना के छन् पत्ता लगाउनेछौँ । पत्ता लगाइसकेपछि हामी सरकारलाई प्रतिवेदन नै बुझाउनेछौँ ।

विश्वमै नभएका अनुसन्धान नेपालमा
हामीले नेपालमा विभिन्न प्रकारका अनुसन्धान सुरु गरेका छौँ । यस्ता अनुसन्धान विश्वमा पनि कमै मात्रामा भएका छन् । पशुपति क्षेत्र विकास कोषले बाँदरमा कुनै रोग छैन भनेको छ, त्यो डाटामा आधारित छैन । यो कुनै अध्ययन र अनुसन्धानविना नै भनिएको हो । हामीले रोगका बारेमा मात्रै हेरिरहेका छैनौँ । बाँदरको व्यवहार, समाजको प्रतिक्रिया सबै विषयलाई राम्रोसँग बुझेर सरोकारवाला निकायसँग समन्वय गर्नेछौँ । एचआइभी भनेको बाँदरबाट आएको हो । बाँदरबाट मानिसमा पेटसम्बन्धी रोग, झाडापखाला, रोग प्रतिरोधात्मक शक्ति कम गराउने (जुन एचआइभीबाहेकका नयाँ रोग हुन्) रोगहरू विश्वव्यापी रूपमा देखापरिसकेका छन् । बाँदरबाट मासिमा लाग्ने रोगबारे सबै जानकार भएको अवस्था छ । तर, हामी बाँदरलाई रोग छ भन्दैमा विस्थापित नै गर्ने पक्षमा छैनौँ । मानिसलाई मात्रै हेरेर निर्णय लिने कुरा भएको छैन । मैले सिएमडिएनसँग मिलेर काम गरिरहेको छु । जनावरबाट मानिसमा लाग्ने रोगहरू भए पनि यसलाई ‘वान हेल्थ पोलिसी’का रूपमा अगाडि बढाउनुपर्नेछ ।

मानिसमा भएको रोग पनि जनावरमा सर्छ
मानिसमा लाग्ने ७० प्रतिशत रोग जनावरबाट आएका छन् । यस्तो अवस्थामा हामीले मानिसको मात्रै रोग वा जनावरको मात्रै भनेर निक्र्योल गर्न सक्दैनौँ । सबैलाई एकै ठाउँमा ल्याएर अनुसन्धान गर्नुपर्ने देखेर नै हामीले ‘वान हेल्थ’ नीति अवलम्बन गरेका हौँ । वातावरण परिवर्तनसँगै जनावरमा भएका रोग मानिसमा सर्ने र मानिसमा भएको रोग जनावरमा सर्ने हुन्छ । वातावरण, मानिस, जनावर सबैको अनुसन्धान गरेर रोगको पहिचान दिनेछौँ । जसले रोग नियन्त्रण गर्न सकियोस् । रोगबारे पत्ता लाग्नासाथ सरकारी निकायलाई जानकारी गराउँदै आएका छौँ । तर, सबैभन्दा पहिला हामीलाई हाम्रै वरिपरि भएका जनावरका बारेमा जानकारी छैन ।

पछिल्लो समय संसारमा धेरै नयाँ रोग पत्ता लागिरहेका छन् । नेपालमा कस्ता रोग छन् भनेर औपचारिक अध्ययन नभएका कारण हामीले अनुसन्धानलाई तीव्रता दिएका हौँ । नयाँ रोग पत्ता लगाएको अवस्थामा सरकारलाई सजिलो हुन्छ ।

नयाँ रोग पत्ता लगाउने उपकरण नेपालमै छन्
नेपालको भौगोलिक अवस्थिति एकै किसिमको छैन । यसकारण अनुसन्धानमा केही कठिनाइ भएको छ । नेपालमा पाँच वर्ष काम गर्दा केही दुविधा देखिएका छन् । स्वास्थ्यमा काम गर्नेलाई जनावरको अवस्थाका बारेमा पनि राम्रोसँग बुझाउन जरुरी देखेकी छु । हरेक क्षेत्रका व्यक्ति र सम्बन्धित निकायलाई गएर वान हेल्थ नीतिका बारेमा कुरा गर्दा सकारात्मक रूपमा लिएको पायौँ । तर, जति कुरामा सकारात्मक पायौँ । महामारी रोगको अनुसन्धानमा त्यति गम्भीरता पाएनौँ । नयाँ रोग पत्ता लगाउन नेपालमै उपकरण छन् । उच्चस्तरीय ल्याब नेपालमै भएकाले नमुनाहरू विदेश लैजानुपर्ने अवस्था छैन । हामीले नेपालमा देखिएका नयाँ रोगलाई विश्वव्यापी गर्नेछौँ । ३० देशमा अनुसन्धान भइरहेकाले कुन देशमा के देखियो त्यसका बारेमा विश्वव्यापी छलफल हुनेछ । नेपाल, चीन, भारत, बंगलादेश, म्यानमार, भियतनाम, कम्बोडिया, थाइल्यान्ड, इन्डोनेसिया, लाओस, जोर्डन, इजिप्ट, सुडान, केन्या, युगान्डा, तान्जानिया, रुवान्डा, प्रजातान्त्रिक गणतन्त्र कंगो, क्यामरुन, घाना, लाइबेरिया, सिरियालियोन, गिनी, आइभरीकोस्टलगायत एसिया र अफ्रिकाका देश छन् ।

नेपालबाट थालिएको काम विश्वका ३० देशमा
कुनै पनि जनावरलाई नसमाती कसरी नमुना परीक्षण गर्ने भन्ने कुराको विकास गर्न पनि नेपालमै काम गरियो । नेपालमा नमुना संकलनको क्षेत्रमा बनाएको नियम विश्वभरि प्रयोगमा ल्याइएको छ । बाँदरलाई नसमाती, नछोई कुनै वस्तु खान दिएर फालेको चिजको ¥याल परीक्षण गर्ने काम नेपालबाट सुरु भएको हो । आज यसलाई हामीले विश्वका ३० देशमा पुर्याएका छौँ । यसमा सरकारी समन्वयको कमी देखिएको छ । कतिपय विषयमा अरूले भनेको विश्वास नगर्ने र त्यसलाई स्वीकार गर्न नसक्ने सरकारी निकाय छ । केही समयअघि बंगलादेशमा निपा भाइरस पत्ता लागेको थियो । यो रोगले महामारीको रूप लिएको थियो । चमेरो, सुँगुर र मानिसबाट फैलिएको थियो । यस्तो समस्याको वेला पनि बंगलादेश सरकारले तत्काल ‘वान हेल्थ’को नीतिमार्फत महामारी रोक्न सफल भएको थियो ।

नेपालमा पनि दिनानुदिन जनसंख्या वृद्धि भइरहेको छ । यहाँको भौगोलिक बनावट फरक छ । कुनै पनि समय नेपालमा महामारीको समस्या आउन सक्छ । त्यसैले सरकारले त्यस्तो समस्यालाई रोक्न सक्षमता अपनाउनुपर्छ । नेपालले आफूसँग भएको स्रोत–साधनको उच्चतम प्रयोग गर्न सक्नुपर्छ । इबोला फैलिएका देशमा बाँदर मर्ने, लुतोले सताएकाजस्ता समस्या थियो । ती देशमा अनुसन्धान गर्न निकै कठिन भएको छ । मानिसहरू सहभागी हुन मान्दैनन् र पनि दुःखले काम गरिरहेका छौँ । नेपालमा भने अहिलेसम्म सहजताका साथ महामारी रोगसम्बन्धी अध्ययन अनुसन्धान भइरहेको छ ।आजको नयाँ पत्रिका दैनिकमा खवर छ

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

ग्याँस र तेलको पाइपालन चितवनसम्म विस्तार गर्ने भारतको योजना

देउवा र मोदीबीच दिल्लीमा एक्लाएक्लै आकस्मिक भेटवार्ता

स्पेनको बार्सिलोनामा आइएसको आक्रमण, १३ जनाको मृत्यु

इजरायली दूताबासमा गोली प्रहार, दुई जनाको मृत्यु




सफलताको कथाshow all
EXPLORE YOUR BUSINESS...
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries, but also the leap into electronic typesetting, remaining essentially unchanged.
COMPANY NAME

P.O.Box No. 899
Bharatpur, Chitwan, Nepal

977 90909090