मापदण्ड विपरीत एम्बुलेन्स संचालन, सेवा छाडेर ‘लुट’ धन्दा!

गोरखाका २२ वटा एम्बुलेन्स सञ्चालन संस्थामध्ये अधिकांशले मापदण्ड मिचेर बर्षौदेखि एम्बुलेन्स सञ्चालन गर्दै आएको खुलेको छ। एम्बुलेन्सहरु थोत्रा मात्रै होइन, संचालक संस्थाले चालकको सेवा, सुविधा बृद्धि नगर्दा एम्बुलेन्स ठेक्कामा लिनेजस्ता बेथिती देखिएको छ।

एम्बुलेन्स सेवा संचालन निर्देशिका, २०७३ को दफा ९ उपदफा १ मा दुई वर्ष अन्तरालमा ‘एम्बुलेन्स सेवा संचालन गर्ने अनुमतिपत्र नवीकरण गर्नुपर्ने’ नियम रहेपनि सो उलंघन गर्दै वर्षाैँ देखि एम्बुलेन्स सञ्चालक संस्थाले नवीकरणमा अटेरी गरेका छन्। जिल्ला एम्बुलेन्स सेवा सञ्चालन समितिमा निवेदन दिएपछि उक्त अनुमति पत्र नवीकरण गर्न सकिन्छ।

एम्बुलेन्स संचालन गर्ने संस्थाहरुले बर्षदिनको आर्थिक कारोबारको लेखापरीक्षण प्रतिवेदन ‘अडिट रिपोर्ट’ पनि बुझाउँदैनन्। यस्तै, बिरामीलाई सेवा दिएपछि रसिद विना नै भाडा लिने गरेका छन्, यो नियम विपरीत हो। चालकले बिरामी वा आफन्तसंग एम्बुलेन्स सेवा प्रयोग गरे बापत ‘बार्गेनिङ’ गरी भाडा लिँदै आएको पाइएको छ।

प्रत्येक दुई वर्ष अन्तरालमा एम्बुलेन्स सेवा लिएवापतको भाडा पुनरावलोकन हुनुपर्ने नियम छ। तर, जिल्ला एम्बुलेन्स सेवा संचालन समितिले बिगत चार वर्षदेखि भाडा पूनरावलोकन गरेको छैन। पक्की सडकमा पनि कच्चीकै दररेटमा बिरामीसंग पैसा (भाडा) असुल्ने काम हुँदा बर्षौदेखि स्थानीय प्रशासन रमिते बनेको छ।

यस्तै, एम्बुलेन्स सञ्चालन गर्दै आएका बिभिन्न संस्थाहरुले चालकलाई ठेक्कामा एम्बुलेन्स दिँदै निश्चित रकम लिने गरेका छन्। सदरमुकाम क्षेत्रका निजी अस्पतालदेखि सहकारी संस्थाहरु चालकलाई एम्बुलेन्स ठेक्कामा दिएर पैसा बुझ्ने गरेको सेवाग्राहीको आरोप छ। एम्बुलेन्स ठेक्कामा लिँदा सेवा भने खस्किएको छ।

स्रोतका अनुसार खाब्दीभञ्याङ स्वास्थ्य चौकी, आमा–बा अस्पताल, भारतीय भू.पू.सैनिक कल्याणकारी सेवा केन्द्रले एम्बुलेन्स ठेक्कामा दिएका छन्। आमा–बा अस्पतालले ‘माइला दाइ’, भू.पू. सैनिकले सुरेन्द्र पाठक, खाब्दीभञ्याङ स्वास्थ्यचौकीले सुजन मगरलाई एम्बुलेन्स ठेक्कामा दिएको स्रोत बताउँछ। चालकले मासिक रु. छ हजार साहूलाई बुझाउँछन्।

एम्बुलेन्स नै मापदण्ड विपरीत

एम्बुलेन्स सेवा संचालन निर्देशिका–२०७३ अनुसूची ७ दफा १० को उपदफा २ ले मापदण्ड तथा उपलब्ध सेवा, सुविधाका आधारमा एम्बुलेन्स क, ख र ग गरी वर्गीकरण गरेको छ। गोरखामा संचालनमा रहेका ‘ग’ बर्गको कमनलाइफ सपोर्ट सीएलएस एम्बुलेन्समा प्राथमिक उपचारका सामग्रीहरु, अक्सिजन सिलिण्डर, आइभी इन्जेक्सन, टर्चलाइट, प्राथमिक उपचार सम्बन्धी तालीमप्राप्त चालकलगायत हुनुपर्नेमा अधिकांश सेवा, सुविधाहरु छैनन्।

साथै एम्बुलेन्स सेवा संचालन निर्देशिका २०७३ अनुसूची ३ दफा ७ को खण्ड ‘ढ’ संग सम्बन्धित कबुलियतनामामा एम्बुलेन्समा स्टार अफ लाइफ संकेत राख्नुपर्ने, टाढैबाट देखिने गरी ‘नेपाल सरकारबाट राजश्व छुट सुविधा प्राप्त’ लेख्नुपर्ने र निर्देशिका अक्षरस पालना गर्नुपर्ने नियम रहेपनि निर्देशिकाको ब्यापक उलंघन भएको छ। एम्बुलेन्समा के–के लेख्नुपर्ने भन्ने एम्बुलेन्स सेवा संचालन गर्ने अनुमति पत्रमै उल्लेख हुन्छ।

यस्तै बिदेशी सरकार, दातृ निकायले सहयोग स्वरुप नेपाल सरकार वा नेपालमा कार्यरत संस्थालाई प्रदान गर्ने एम्बुलेन्स ‘क’ वा ‘ख’ बर्गको हुनुपर्नेमा अधिकांश ‘ग’ वर्गका छन्। साथै गोरखाका एम्बुलेन्सहरुले निश्चित गन्तब्यमा बिरामी पु¥याएर फर्किंदा यात्रु समेत बोक्ने गरेको गुनासो बढेको छ। बिरामी ओसारपसारबाहेक अन्य यात्रु बोकेको पाइएमा निर्देशिका अनुसार त्यस्तो संस्थाको अनुमति पत्र नै रद्द हुने नियम रहेपनि एम्बुलेन्सको अनुगमन नहुँदा चालकहरुको मनोमानी बढेको हो।

के गर्दैछ जिल्ला एम्बुलेन्स सेवा संचालन समिति ?

एम्बुलेन्स संचालनमा बेथिती, भद्रगोल भएको, सेवाग्राही, बिरामीले दुःख पाएको जनगुनासो बढेपछि लामो समयपछि बुधबार जिल्ला एम्बुलेन्स सेवा संचालन समितिको बैठक बसेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी केशबराज शर्माको अध्यक्षतामा जिल्ला जनस्वास्थ्य कार्यालय गोरखामा बसेको समितिको बैठकले जिल्लाभरका २२ वटा एम्बुलेन्सहरु एकद्वार (वान डोर) प्रणालीबाट संचालन गर्नेलगायत महत्वपूर्ण निर्णय गरेको जिल्ला जनस्वास्थ्य प्रशासक केदारराज पराजुलीले जानकारी दिए। उनका अनुसार जिल्लाभरका एम्बुलेन्सलाई ‘वान डोर सिष्टम’ मा ल्याउने र ब्यबस्थापनका लागि गोरखा अस्पताललाई अनुरोध गर्ने निर्णय भएको छ।

यस्तै, अनुमति लिएका एम्बुलेन्सहरु तथा चालकहरुको कागजपत्र झिकाउने, मापदण्डअनुसार चलेका छन् या छैनन् जिल्ला जनस्वास्थ्य कार्यालयले अनुगमन गर्ने निर्णय भएको हो। साथै भाडा निर्धारणका लागि नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाको संयोजकत्वमा गोरखा उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ, चालकमध्ये एक जना, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधि रहने गरी पाँच सदस्यीय भाडा निर्धारण समिति गठन गरेको पराजुली बताउँछन्। के, कति भाडा पूनरावलोकन गर्दा उपर्युक्त हुन्छ भन्ने सिफारिस गर्ने अधिकार सो समितिलाई छ।

आ.ब. ०७३/०७४ अबधिको लेखापरीक्षण प्रतिबेदन एम्बुलेन्स संचालन गर्ने अनुमति लिएका संस्थाहरुले आउँदो तीन महिना भित्र समितिमा बुझाउनुपर्ने, जुन स्थानका लागि संचालन गर्ने भनेर अनुमति लिएको हो सो स्थानमा संचालन गर्नुपर्ने, भाडा लिँदा बिरामीलाई अनिबार्य रसिद दिनुपर्ने, ‘क’ बर्गको एम्बुलेन्स खरिद आव्हान गर्ने निर्णय गरेको जनस्वास्थ्य कार्यालयका हेल्थ असिष्टेण्ट नानीबाबु दानीले बताए। समितिको निर्देशन र एम्बुलेन्स सेवा संचालन निर्देशिका अटेर गर्नेहरुलाई अनुमति रद्द गर्ने चेतावनी समितिले दिएको छ।

के भन्छन् चालक?

बि.सं. २०५६ देखि एम्बुलेन्स संचालन गर्दै आएका हाल गोरखा अस्पतालले संचालन गरेको एम्बुलेन्सका चालक कमल बसेलका अनुसार एम्बुलेन्स सञ्चालक संस्था र चालकबीच एक अन्तरक्रिया कार्यक्रम गर्नु जरुरी छ। आलोपालो एम्बुलेन्स संचालन गर्न सकेमा प्रभावकारी हुन्छ। दिउँसो र रातिका लागि छुट्टाछुट्टै चालक राख्न सकेमा रातमा पनि बिरामीलाई सेवा दिन सकिन्छ।

चालक बसेल भन्छन्, ‘०६९ सालमा एम्बुलेन्स संचालक संस्थाहरु र चालकबीच अन्तरक्रिया भएको थियो। त्यसबेलादेखि नै आम्दानीको आठ प्रतिशत रकम चालकलाई दिने निर्णय भयो। एक पटक काठमाण्डौं जाँदा ४९६ रुपैंया भत्ता मिल्छ यो भत्ताले खाने किन बस्ने? सेवा, सुविधा बृद्धि नगरेसम्म गुणस्तर कामय गर्न सकिँदैन।’ एम्बुलेन्स चालकले मासिक रु. दश हजार हाराहारीमा पारिश्रमिक पाउँछन्।

कुन–कुन संस्थाले एम्बुलेन्स चलाउँछन्?

गोरखा अस्पतालले दुई वटा, उद्योग बाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी, भारतीय भू.पू. सैनिक संघ, आमाबा हस्पिटल, मनासलु सहकारी, उद्यमसिल सहकारी, काजिमान स्मृति प्रतिष्ठान, भीमसेन स्मृति प्रतिष्ठान छोप्राक, बुंकोट स्वास्थ्यचौकी, आँपपीपल अस्पताल, बोर्लाङ स्वास्थ्यचौकी, आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र, उद्योग बाणिज्य संघ आरुघाट इकाइ, घ्याम्पेशाल स्वास्थ्यचौकी, सिम्जुङ स्वास्थ्यचौकी, जलबीरे आमा समूह, भारतीय भू.पू सैनिक बारपाक, मंगलेश्वर साँस्कृतिक मञ्च च्याङ्लीले एम्बुलेन्स सेवा दिँदै आएको तथ्याङ्क छ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

ग्याँस र तेलको पाइपालन चितवनसम्म विस्तार गर्ने भारतको योजना

देउवा र मोदीबीच दिल्लीमा एक्लाएक्लै आकस्मिक भेटवार्ता

स्पेनको बार्सिलोनामा आइएसको आक्रमण, १३ जनाको मृत्यु

इजरायली दूताबासमा गोली प्रहार, दुई जनाको मृत्यु




सफलताको कथाshow all
EXPLORE YOUR BUSINESS...
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries, but also the leap into electronic typesetting, remaining essentially unchanged.
COMPANY NAME

P.O.Box No. 899
Bharatpur, Chitwan, Nepal

977 90909090