मनिता, एसियाली जुडोकी नेपाली च्याम्पियन

जुडो खेलाडी मनिता प्रधान श्रेष्ठलाई उनका गुरू सूर्यनारायण श्रेष्ठले सधैं भनिरहन्थे, ‘जितका लागि खेल्नू!’

‘जितका लागि खेल्नू!’

मनिताको मनमा एकनासको ध्वनि सधैं बजिरह्यो, जसलाई उनले गुरूमन्त्रका रूपमा लिइन्– ‘जितका लागि खेल्नू!’

यही मूलमन्त्र बोकेकी मनिता गत जेठमा हङकङमा भएको एसियाली जुडो च्याम्पियनसीपमा नेपालबाट ५७ केजी तौलमुनि समूहमा बाउट जित्ने पहिलो नेपाली महिला बनिन्।

नयाँ इतिहास रचेकी उनी सञ्चारमाध्यममा फैलिन समय नै लागेन। तर बाउट जित्ने पहिलो महिला बनेर इतिहास रचेकी मनिता भने हङकङमा निराश भएर बसेकी रहिछन्।

‘एसियाली जुडोमा मेरो पहिलो बाउट खेल आयोजक राष्ट्र हङकङसंग नै भएको थियो। गुरूले अरू खेलाडीहरू पनि हामीजस्तै नै हुन्। तिमी सक्छौ भन्नुभएको थियो। मलाई पनि जित्छु जस्तै लागेको थियो। मैले जिते पनि। त्यस पश्चातको खेल खासै राम्रो गर्न सकिन, म निराश भएर बसेकी थिएँ। पहिलो बाउट जित्नु नै ठुलो कुरा हो भनेर दिदीहरू सम्झाइरहनुभएको थियो। यतिकैमा गुरूको फोन आयो। गुरूले तिमी बाउट जित्ने नेपालकै पहिलो नेपाली महिला भयौ भन्दा पत्यारै लागेको थिएन। पछि मोबाइलमा तस्बिरहरू देखाउनु हुँदा पो विश्वास भयो।’; मनिताले यति बताइरहँदा उनको अनुहारमा खुुसी अंकुराएको प्रष्ट देखिन्थ्यो।

 

अब भने उनलाई झन् बढी आत्मविश्वास जागेर आयो– त्यति म पनि गर्न सक्छु। साहित्यकार पारिजातले ‘मानुषी’ कवितामा भनेजस्तैः तिमी जति गर्न सक्छौ, त्यति म पनि गर्न सक्छु, तिमी जत्तिकै पाखुरी बजार्न सक्छु, पसीना बगाउन सक्छु, तिम्रा सबै अनुभूतिहरु, मेरा पनि अनुभूति…।

एसियाली जुडो जित्ने राष्ट्रिय खेलाडी हुनुअघिको उनको पृष्ठकथामा पनि पारिजात जोडिन आइपुग्छिन्। मूलथलो पाँचथर भएकी मनिता बन्दी सहायता नियोग (पाम)मा बस्छिन्। काठमाडौंको रानीवनस्थित पाम साहित्यकार पारिजातले नै स्थापना गरेको एक गैरनाफामुलक संस्था हो। पाममा अहिले मनिता लगायत २६ जना बालबालिका आश्रित छन्। विभिन्न कारणले जेलमा परेका बाबुआमाका छोराछोरीलाई आश्रय दिन खोलिएको यो संस्थामा जुडो प्रशिक्षण भने सन् २००९ पछि मात्र सुरू भएको रहेछ।

बन्दी सहायता निगमका (पाम)का जुडो प्रशिक्षक सूर्यनारायण श्रेष्ठ पामबारे भन्छन्, ‘पारिजात दिदीले स्थापना गरेको यो संस्था उनको मृत्युपश्चात लथालिंग र भताभुंग भयो। उनको देहान्तपछि पारिजात दिदीकै बहिनी सुकन्या बाइबाले जिम्मा लिए पनि यसलाई राम्ररी चालाउन सकिनन्। पछि उनले पामको जिम्मा डाक्टर नारायणकाजी श्रेष्ठलाई सुम्पिइछन् र अहिले उनकै निगरानीमा यो संस्था अघि बढिरहेको छ।’

पाममा जुडो प्रशिक्षण सुरू हुँदाको पहिलो ब्याच हुन् मनिता। उनीलगायत उनका साथीहरूले एकदिन अचानक संस्था संचालक श्रेष्ठलाई ‘कराते खेल्ने, कराते खेल्ने’ भनेर अनुरोध गरेछन्। कराते र जुडोबीचको अन्तर थाहा नपाएका उनीहरूलाई डा. नारायणकाजी श्रेष्ठले करातेको सट्टा जुडो प्रशिक्षक सूर्यनारायण श्रेष्ठलाई ल्याइदिएछन्। त्यसपश्चात नै मनिता र उनका साथीहरूको जुडो यात्रा सुरू भयो।

‘सुरूसुरूमा यो खेल सिक्दा निकै हाँस उठ्थ्यो गुरूले जे गरे पनि हाँस्न मन लाग्ने अनि खेलमा पनि ठगी गर्न मन लाग्ने। तर गुरूले हामीलाई ‘नहाँस–नहाँस’ भन्नुहुन्थ्यो तर हामीलाई जे देख्दा पनि हाँस उठ्ने। साथीहरूसँग उफ्रेर, चल्दै खेल्न चाहिँ निकै रमाइलो हुन्थ्यो,’ उनले खेलको सुरूवातको चित्रण गरिन्।

सन् २००९ देखि जुडो सिकाउँदै आएपनि सूर्यनारायण श्रेष्ठले भने २०११ बाट मात्रै उनीहरूलाई प्रतियोगितामा सहभागी गराउन थाले। उनी भन्छन् ‘म चाहन्थेँ कि जब मेरा विद्यार्थीहरू बाहिरी खेलाडीहरूसँग प्रतिस्पर्धा गर्छन्। उनीहरूले अन्य खेलाडीहरूलाई कडा टक्कर दिउन् र पामका खेलाडीहरूले पनि पदक जितेर आउन्।’ उनको यही धैर्यताले गर्दा उनका विद्यार्थीहरूले त्रियोग अन्तरविद्यालय जुडो च्याम्पियनसिपमा खेलेको पहिलो खेलमै महिला र पुरूषबाट स्वर्ण प्राप्त गर्न सफल भए।

त्रियोग अन्तरविद्यालय जुडो च्याम्पियनसिपमा महिलाबाट पहिलो हुने नाम थियो – मनिता श्रेष्ठ प्रधान। पहिलो खेल अनि पहिलो, मनिताको हौसला यसै पनि ह्वात्तै बढिहाल्यो। उनले त्यसपश्चात लगातार अन्य प्रतियोगिताहरू पनि खेलिन् जसमा प्रायः प्रतियोगिताहरूमा उनी नै पहिलो हुने गर्थिन्। प्रतियोगिताहरू खेल्न सुरू गरेको एक वर्षमै उनले अन्र्तराष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर प्राप्त गरिन्। बंगलादेशको ढाकामा भएको दोस्रो दक्षिण एसियाली क्याडेट प्रतियोगितामा भाग लिने अवसर पाएकी उनी पहिलो अन्तराष्ट्रिय प्रतियोगितामा पनि खरो उत्रदै रजत पदक ल्याउन सफल भइन्।

२०११ बाट सुरू भएको उनको खेल यात्रा २०१६ मा आइपुग्दा दक्षिण एशियाकै सबैभन्दा ठूलो खेल मानिने दक्षिण एसियाली जुडो च्याम्पियनसिप (१२ औं दक्षिण एसियाली खेल) मा रजत पुरस्कार प्राप्त गरिन्। उनलाई अहिलेसम्म सबैभन्दा अविस्मरणीय खेल पनि यही लाग्छ। उनलाई आफू पहिलो हुन्छु जस्तै लागेको रहेछ तर उनी असफल भइन्, तैपनि त्यो पदकले उनको जीवनमा महत्वपूर्ण स्थान राखेको छ।

सातौं राष्ट्रिय खेलमा च्याम्पियन रहेकी मनिताले राष्ट्रिय स्तरमा भएका अधिकांश प्रतियोगितामा ‘बेस्ट प्लेयर’ हुँदै थुप्रै पदक पाएकी छिन्। एघारौं एसियाली क्याडेट तथा १८ औं एसियाली जुनियर जुडो च्याम्पियनसिपमा कास्यपदक जितेकी मनितालाई गत साता उनकै विद्यालय बाल विकास माविले सम्मान पनि गरेको छ। किर्गिस्तानको बिस्केकमा सम्पन्न स्पर्धाको जुनियर महिला ५७ केजीमुनि मनिताले पदक जितेपछि उनलाई विद्यालयले १५ हजार नगदसहित सम्मान गरेको हो।

एसइईको तयारीमा जुटेकी मनितालाई खेल र पढाइलाई सँगसँगै अघि बढाउन समय मिलाउन भने धौधौ नै पर्ने गरेको छ। आउने खेलमा अझ राम्रो प्रर्दशनका लागि मनिता बिहान पाँच बजे नै उठेर रंगशाला पुग्छिन्। उनको पढाइ ९ बजे सुरू हुन्छ। ९ बजेको विषयको कक्षा भ्याउन उनलाई कम्ता सकस हुँदैन। बिहानको खाना समेत उनी स्कुलकै ब्रेकमा खान्छिन्। ४ बजे सम्मको पढाइ सकेर घर फर्किन्छिन् र खाजा खाएर ५ बजेतिर फेरि सुरू हुन्छ, उनको जुडो अभ्यास। अभ्यासपश्चात् खाना खाइसकेर दिनभरिको थकानलाई भुलेर उनी फेरि पढ्न बस्छिन्। उनको यस्तै अस्तव्यस्त दैनिकीले गर्दा त चिन्तित देखिन्थे।

उनका जुडो प्रशिक्षकले भने, ‘मनिताको पढाइ र उनको खेलमा अझै निखार ल्याउन भनेर नै आज म बैठक बस्न जाँदै छु।’ उनले जोडे, ‘मनिता जुडोसँगै पढाइमा पनि अब्बल छिन्। पहिले सधैं पढाइमा केटीबाट प्रथम हुने गरेकी मनिता हंगेरीमा भएको एक महिने ट्रेनिङका कारण अघिल्लो परीक्षामा भने सोचेजस्तो नतिजा ल्याउन सकिनन्। उनी आफै पनि आफ्नो नतिजाबाट सन्तुष्ट छैनन्।’

खेलसँगै पढाइमा पनि अब्वल मनिता, अहिले आफु जे छिन् त्यसमा सबैभन्दा ठूलो हात प्रशिक्षक सूर्यनारायण श्रेष्ठ र संस्थाका संचालक डाक्टर नारायणकाजी श्रेष्ठको रहेको मान्छिन्। सानै उमेरमा जुडोमा आफ्नो परिचय बनाएकी मनिता यसैले भन्छिन्, ‘उहाँहरू नहुनुएको भए म नै यहाँ हुन्न थिए र म जुडो खेलाडी भएर यो अवस्थासम्म पनि आउने थिइन।’

२४ वर्षअघि बितिसकेकी साहित्यकार पारिजातसँग उनको भेट त भएन तर पारिजातले नै स्थापना गरेको संस्थाको प्रतिभाका रूपमा उनले आफ्नो परिचय अन्तर्राष्ट्रिस्तरमा स्थापित गरेकी छिन्। जसरी पारिजातले कवितामा भनेकी थिइन्, ‘म तिम्रो हात दह्रो गरी समाउँछु, तिमी मलाई तिमी पुगेको ठाउँसम्मै पुर्यारऊ’, त्यसरी नै पारिजातद्वारा स्थापित पाम र त्यहाँका आफ्ना गुरू–अभिभावकको साथ उनको उर्जा बनेको छ। पाममा उनी करीब ८ वर्षकी हुँदा आइपुगेकी थिइन्। अहिले मनितालाई पाम आफ्नै घरजस्तै लाग्छ। यहाँ आउनुअघिको उनको जिन्दगीको कहानी सुखद थिएन।

पाम आउनुअघिको जीवन सम्झँदा उनको उज्यालो अनुहारमा एकाएक चमक हरायो। ‘बुवा जेल पर्नुभयो, आमा म र भाइलाई छोडेर कता जानुभयो, थाहा भएन। त्यसपछि हामी पाम आयौं। मलाई अरू कुरा धेरै सम्झना पनि छैन,’ उनले भनिन्।

सानो उमेरमै बुवाआमा बाट छुट्टिएकी उनलाई सम्झना छ त केवल पाम र जुडोको छ। यसैले त उनी भन्छिन्, ‘मलाई पुरानो कुरा सम्झनु नै छैन, पामले दिएको राम्रा स्मरणहरू लिएर अघि बढ्नुछ।’

 

विभिन्न राष्ट्रिय र अन्र्तराष्ट्रिय प्रतियोगिता खेलिसकेकी मनिताको अबको लक्ष्य भनेकै वल्र्ड च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने र आफ्नो र आफ्नो देशको नाम सधैं उच्च राख्ने रहेको छ। खेलमा दृढ र दरिली देखिने मनिताका संकल्प र सपना उनी जस्तै दृढ र दरिला देखिन्छ। उनी भन्छिन् ‘म जहिलेसम्म जुडो खेल्न सक्छु, जुडो खेल्छु। जुडोमार्फत् नेपाललाई संसारमा चिनाउन चाहान्छु।’

त्यसो त पहिलो बाउट जित्ने मनितासँग जितका यस्ता अनगिन्ती किस्साहरू छन्। पछिल्लो समय जुडोमा फुपुल्हामु खत्रीपछि सर्वाधिक सुनिने नाम पनि उनी बनिसकेकी छिन्। साहित्य, संस्कृति, राजनीति र सामाजिक क्षेत्रमा जसरी पाम–संस्थापक पारिजातको नाम छ, त्यसरी नै नेपाली जुडो खेलको दुनियाँमा मनिता पारिजातकै प्रतिभावान उत्तराधिकारीका रूपमा स्थापित भइरहेकी छिन्।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

स्पेनको बार्सिलोनामा आइएसको आक्रमण, १३ जनाको मृत्यु

इजरायली दूताबासमा गोली प्रहार, दुई जनाको मृत्यु




सफलताको कथाshow all
EXPLORE YOUR BUSINESS...
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries, but also the leap into electronic typesetting, remaining essentially unchanged.
COMPANY NAME

P.O.Box No. 899
Bharatpur, Chitwan, Nepal

977 90909090